एक शताब्दी भन्दा बढी अवधिसम्म वाह्य संसारसित अलग्गिएर बस्न बाध्य नेपालका लागि प्रजातन्त्रको प्राप्ति पछि संसारको मानचित्रमा प्रतिस्थापित गराउने इच्छा एउटा स्वभाविक प्रतिक्रिया थियो भन्नु अतिशयोक्ति नहोला । यसै पृष्ठभूमिमा नेपालका लागि पर्यटनको विकास आर्थिक लाभको विषयभन्दा अझ माथिल्लो स्वार्थको विषय बन्न पुग्नु स्वभाविक छ । नेपाल आफ्नो विशिष्ट व्यक्तित्व भएको मुलुक मात्र होइन यसका बहुभाषिक जनता, संस्कृति तथा परम्परा जस्ता आफ्नै विशेषताहरुका कारण धनी रहेको छ ।
यसै पृष्ठभूमिमा २०३१ सालमा “मेचीदेखि महाकालीसम्मका नेपाली कला र कलाकारिता, संस्कृति र सजावट जस्ता कुरालाई विदेशी पर्यटकहरुका बीचमा प्रचार प्रसार गर्ने” उद्देश्य समेत अँगाली तारा गाउँको समुद्घाटन भएको थियो । सामान्यतः पर्यटकहरुका लागि सेवा प्रदान गर्ने होटलहरु निजी क्षेत्रमा स्थापित भएका छन तापनि यी बृहत्तर उद्देश्यको परिपूर्तिका लागि तारा गाउँलाई नेपाली जनताको साझा सम्पत्तिका रूपमा सरकारी क्षेत्र भित्र संचालित संस्थाका रूपमा परिकल्पित थियो । त्यसैले तारा गाउँ होटलको सानो रूपमा स्थापना गर्दा डन्लपका विच्छ्यौनाका सट्टा कपासका डसनाहरुको प्रयोग भएको थियो । नेपाली गलैचा र रुम्जाटारे राडीले आयातित गलैंचाहरुको स्थान लिएको थियो तथा स्थानीय श्रम र शीपले निर्मित माटाका बत्ती छोप्ने ल्याम्प सेडहरुले कोठाहरु सजाइएका थिए । तारा गाउँको विकासलाई बहुउद्देश्यीय दीर्घकालीन योजनाको रूपमा तीन चरणमा बाँडी कार्यान्वयन गर्दै लाने उद्देश्य राखिएको थियो । समग्रमा भन्नुपर्दा श्री ५ को सरकारको संरक्षण र सहयोगबाट तारा गाउँलाई “सानो नेपाल" को रूपमा विकसित गराउने र विविध सामुदायिक योजनाहरु संचालन गर्ने सपना यसले बोकेको थियो ।
प्रथम चरणमा नेपालको सांस्कृतिक विविधतालाई झल्काउने आफ्नै किसिमको होटेल व्यवस्थापन कार्य संचालन गर्ने, दोस्रो चरणमा "शिल्पकला गाउँ" को विकास गर्ने र तेस्रो चरणमा तारा गाउँका शाखाहरु नेपालका अन्य विकास क्षेत्रहरूमा स्थापना एवं विस्तार गर्दै जाने अवधारणा यसका दीर्घकालीन योजनामा समावेश थिए । यस परियोजनाबाट आर्जित मुनाफा कसैको व्यक्तिगत सम्पत्तिका रूपमा जाने नभई देशका कम विकसित क्षेत्रहरुमा विकास आयोजनाहरुको संचालनमा खर्च हुने अवधारणा यसको एउटा महत्वपूर्ण पक्ष थियो। तारा गाउँ विकास समितिको निम्न लिखितपक्षहरूलाई ध्यानमा राखी अगाडि बढ्ने अपेक्षा गरेको थियो ।
१ .यो संस्था श्री ५ को सरकारको पूर्ण स्वामित्व रहेको संस्था भएकोले यस अन्तर्गतका पर्यटन विकास विस्तार कार्यक्रममा निर्माण, श्रृंगार एवं संचालनका सबै क्षेत्रमा सकेसम्म बढी नेपालीपन झल्काउने;
२.नेपालका सबै विकास क्षेत्रहरुमा सोही क्षेत्रका कला र संस्कृति झल्कने गरी कार्यक्रमहरु क्रमशः संचालन गर्दै जाने;
३.पर्यटन उद्योगको विकासको प्रतिफल राष्ट्रको सकेसम्म बढी भागमा र बढी जनतासम्म पुग्न सकोस भन्ने हेतुले यसको विस्तार र विकास कार्यक्रममा सकेसम्म बढी नेपाली सर्वसाधारण जनतालाई शेयर बिक्रीद्वारा सहभागी बनाउने ।"
उपरोक्त कार्यनीतिहरुको प्रभावकारी कार्यान्वयनबाट राष्ट्रले गर्ने विदेशी मुद्राको संचितीमा योगदान पुयाउँदै देशका विभिन्न भागमा नयाँ र थप रोजगारीका अवसरहरु सृजना गरी नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै नेपालको सही व्यक्तित्वलाई विश्वमा फैलाउन मद्दत गर्ने आशा र विश्वास लिइएको थियो ।
उपरोक्त सपना कोर्न श्रीमती अंगूरबाबा जोशीले योगदान पुऱ्याएको कुरा बिर्सन सकिदैन । उनको अथक प्रयास स्वरुप तारा गाउँको माध्यमद्वारा “सानो नेपाल" को सृजना गर्ने सपना कतिपय दृष्टिले यद्यपि अपूरै रहेको भएता पनि नेपालको धनी जैविक विविधता, ऐतिहासिक पृष्ठभूमि तथा अमुल्य सम्पदालाई विश्वसामु सहि अर्थमा चिनाउने खाँचो र सम्भावना भने जस्ताको तस्तै जीवित छ भन्नु अतिशयोक्ति नहोला ।माथि उल्लेखित अवधारणा तथा कार्यनीतिलाई अब वर्तमान परिवेशमा ढाल्नु जरुरी छ । आर्थिक उदारीकरण तथा बजारमुखी अर्थतन्त्रले अब पर्यटन विकासको पक्ष निजी क्षेत्रलाई सुम्पी यसको प्रवर्द्धनात्मक तथा नीतिगत पक्षका कुराहरु मात्र सरकारी क्षेत्रको जिम्मा लगाएको छ । यस अतिरिक्त सम्पूर्ण विकास प्रक्रिया तथा पर्यटकीय विकासका अवधारणाहरुमा गरीवी न्यूनीकरणको महत्व सर्वाधिक
प्राथमिकताको विषय बन्न पुगेको कुरा बिर्सन सकिँदैन । नेपालको पर्यटकीय विकासलाई गाउँ, घर दैलोसम्म पुयाई गरीवी न्यूनीकरणमा योगदान पुऱ्याउनुपर्ने दायित्व अब सबैको नै भएता पनि सरकारी क्षेत्रको दायित्व कम महत्वको नरहेको स्पष्ट छ । यस पृष्ठभूमिमा नेपाल पर्यटन विकास बोर्डले पर्यटकीय प्रवर्द्धनका पक्षहरुमा ध्यान दिने भई अब तारा गाउँ विकास समितिलाई गरीवी न्यूनीकरणका लागि ग्रामीण पर्यटनको विकासको क्षेत्रमा पनि लगाउन सकिने सम्भावना तर्फ सोच्नु वाञ्छनीय हुने देखिन्छ ।